घरेलु बाली संरक्षण

(No Comments)     January 4, 2018    

काठमाडौं । साधारणतया बाली संरक्षण भन्नाले बीउ रोपेदेखि उत्पादन लिँदासम्म बालीमा लाग्ने रोग, किरा र भण्डारण आदिमा हुने नोक्सानीबाट सुरक्षित गर्नु हो । खेतीबारीको बालीलाई रोग र किराबाट बचाउन हाम्रो गाउँघरमै पाईने विभिन्न वस्तु अर्थात् वनस्पतिबाटै गर्न सकिन्छ ।

बाली संरक्षण गर्ने केही घरेलु विधिहरु:

निम: निमको पात, बोक्रा, फल र फूल आदिमा ‘अजाडिरेक्टीन’ नामक किटनाशक तत्व पाइन्छ, जो किरा र रोगको लागि हानिकारक हुन्छ । निमको प्रयोगबाट बालीनालीमा दुःख दिने गवारों फड्के किरा, पातबेरुवा, पतेरो, डाँठ कुहिने रोग (ढुँसी), बेसारको जुका, काँक्रो/फर्सीको रातो खपटे नियन्त्रण गर्न सकिन्छ ।

प्रयोग विधि: एक केजी निमको पात, १० लिटर पानी १२ घण्टा जति भिजाउने । झोललाई छानेर बालीमा छर्कने । निमको पातभन्दा फल (गेडा) अझ प्रभावकारी पाइएको छ ।

गाई/भैंसीको गहुँत: गाई÷भैंसीको गहुँतको प्रयोगले झुसिलकिरा, कत्लेकिरा, लाही, थ्रिप्स, पुतलीका लाभ्रे आदि किराहरू र कतिपय भाइरसजन्य रोगहरूको नियन्त्रण गर्न प्रभावकारी हुने कुरा प्रकाशमा आएका छन् ।

प्रयोग विधि: एक लिटर गहुँत ५–१० लिटर पानीमा मिसाई छर्ने ।

ताजा गोबर: पशु वस्तुको ताजा गोबर आलु बालीको डढुवा रोगमा प्रयोग गर्न सकिन्छ ।

प्रयोग विधि: एक केजी ताजा गोबरमा चार लिटर पानी मिसाई कपडाले छानी डढुवा रोग लागेको बालीमा छर्कने ।

सुर्ती: सुर्तीको प्रयोग गरेर बाली नालीमा दुःख दिने झुसिल किरा, खपटे किरा, गवारो, पात बटार्ने किरा, लाही, थ्रिप्स, फेद काट्ने किराको रोकथाम गर्न सकिन्छ ।

प्रयोग विधि: एक केजी सुर्तीको पात र डाँठ १५ लिटर पानीमा सानो टुक्रा गरी २४ घण्टा भिजाउने । १०० ग्राम वासिङ पाउडर मिसाई छानेर बालीमा छर्कने । दुई सय ५० ग्राम सुर्ती, ५० ग्राम साबुन, चार लिटर पानीको मिश्रणलाई ३० मिनेटसम्म पकाएर छान्ने र एक भाग झोलामा चार भाग पानी मिसाएर छर्कने ।

पुदिना र तितेपातीको झोल: झुसिल किराको नियन्त्रणको लागि यसको प्रयोग गरिन्छ ।

प्रयोग विधि: १०० ग्राम पुदिना र १०० तितेपाती मिसाई कुटेर एक लिटर पानीमा डुबाइ घोल बनाएर छान्ने र किरा लागेको बिरुवामा भिज्ने गरी छर्कने । 

 

लसुन र सयपत्री फूलको मिश्रण: पात खन्ने किरा नियन्त्रणका लागि यसको प्रयोग गर्न सकिन्छ ।

प्रयोग विधि: तीन–चार पोटी लसुन, दुई मुठी सयपत्री फूलको पात, तीन–चार दाना प्याज, तीन–चार वटा खुर्सानी र एक लिटर पानीको मिश्रणलाई १५ मिनेटसम्म उमाल्ने र चिसो भएपछि कपडा वा जालीमा छानेर एक भाग झोलमा दुई–तीन भाग पानी मिसाएर किरा लागेको बिरुवामा छर्कने ।

मेवाको पात: मेवाको पातको घोलले कफीको डढुवा तथा पिठे रोगको (ढुसीरोग) नियन्त्रण हुन्छ ।
प्रयोग विधि: एक किलो पिधेंको मेवाको पात एक लिटर पानीमा घोलेर कपडाले छान्ने, पाँच लिटर पानीमा २० ग्राम साबुन पानीको घोल बनाइ छर्ने ।

गोलभेडाको पात: बन्दाको गवारो र आलुको पुतलीको रोकथाम गर्दछ ।
प्रयोग विधि: आधा केजी गोलभेडाको पातलाई एक लिटर तातोपानीमा माडेर राख्ने र करिब पाँच घण्टा पछि छानेर बन्दा तथा आलुमा प्रयोग गर्ने ।

मट्टितेल र साबुन: फर्सीको रातो खपटे र यस्तै किसिमका किराहरूको नियन्त्रणको लागि १०० एमएल साबुनको झोल, चौथाई चम्चा मट्टितेल, एक लिटर पानीमा मिसाइ छरेमा नियन्त्रण हुन्छ ।

माटो उपचार: माटोमा बस्ने खुभ्रे, फेद कटुवा, धमिरा, रातो कमिला आदि किरा नियन्त्रणको लागि बाली लगाउनु अघि माटो उपचार गर्नु राम्रो हुन्छ ।

खेतबारीमा बाली लगाए देखीनै संरक्षण गर्नसके नोक्सानी सम्भवना सायदै कम हुने देखिन्छ । सजक रहू सचेत बनू बेलैमा घरेलु बाली संरक्षण गर्न सिकौं ।

Comments

comments

Related Posts