गाउँमै दूध चिस्यान केन्द्र

(No Comments)     November 17, 2017    

काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका-४ पलाक्चामाराका किसान गाउँमै दूध बिक्री गर्न पाउँदा हर्षित भएकाछन् । दूध भण्डारणको लागि गाउँमै चिस्यान केन्द्र स्थापना भएपछि उत्पादित दूध खेर जाने छैन भने उज्यालो नहुँदै दूध बोकेर शुक्रबारे बजार धाउन पनि नपर्ने भएको छ ।

पशुपालक कृषकलाई लक्षित गरेर जिल्लामा सञ्चालित उन्नति परियोजनाको सहयोगमा स्थानीय सिंहदेवी पशुपालक कृषक सहकारी संस्थाले चिस्यान केन्द्र स्थापना गरेको हो । चिस्यान केन्द्रमा स्थानीय किसानको समेत लगानी रहेको छ । गाउँका पशुपालक कृषकले पाँच वर्षअघि गाउँमै सहकारी संस्था खोलेका थिए ।

पशुपालन र उत्पादित दुग्धजन्य वस्तुसँग सम्बन्धित समस्या उत्पन्न हुँदा सामूहिकरुपमा सुल्झाउने गरी स्थापना भएको सहकारीले अहिले किसानकै हितका लागि चिस्यान केन्द्र खोलेको सहकारीका अध्यक्ष सूर्यबहादुर कार्कीले बताउनुभयो ।

दूध चिस्यान केन्द्र सञ्चालनका लागि कूल रु २१ लाख खर्च भएको छ । त्यसमध्ये रु १० लाख ५२ हजार उन्नति परियोजनाले अनुदान सहयोग गरेको अध्यक्ष कार्कीले बताउनुभयो । बाँकी रु १० लाख ४८ हजार भने किसानबाटै जम्मा भएको रकम लगानी गरेर सहकारीले चिलिङ फ्याट नाप्ने मेसिनसहितको चिस्यान केन्द्र स्थापना गरेको उहाँको भनाई छ ।

किसानले दूध बेचेरै आम्दानी गर्ने उद्धेश्यले चार वर्षअघि जिल्ला बाहिर धनकुटा र इलामका विभिन्न ठाउँबाट उन्नत जातका गाई खरिद गरेर ल्याएका र अहिले गाउँका अधिकांशले गाईपालन गरिरहेको सहकारीका व्यवस्थापक मनबहादुर कार्कीले बताउनुभयो । “यसअघि किसानले उत्पादन गरेको दूध बोकेर शुक्रबारे चिस्यान केन्द्र पु¥याउनु पथ्र्यो, अब यही जम्मा हुन्छ”, व्यवस्थापक कार्कीले भन्नुभयो ।

सहकारीमा फाक्चामारा गाउँमा गाई र भैँसी पालेर दूध उत्पादन गर्ने ५२ घरधुरी किसानहरु आवद्ध छन् । यसबाहेक यही गाउँका सगरमाथा र जनजागरण दुग्ध उत्पादक सहकारी संस्थाहरुले पनि उक्त दुग्ध चिस्यान केन्द्रमा दूध जम्मा गर्न थालेका छन् । अहिले दैनिक एक सय बढी किसानले दूध विक्री गर्दै आएका व्यवस्थापक कार्कीले बताउनुभयो । एक जना किसानले नै दैनिक २० लिटरसम्म दूध विक्री गर्ने गरेका छन् ।

६ बजेदेखि ९ बजेसम्म केन्द्रमा दूध संकलन हुने गरेकाछन्  । किसानले दूधको प्रतिलिटर ३५ देखि ४८ रुपैयाँसम्म पाउँछन् । यहाँ जम्मा भएको दूध धनकुटाको हिले, धरान र विराटनगरसम्म पुग्ने गरेको छ ।

 

Comments

comments

Related Posts