खेतबारीमै कृषक पाठशाला

(No Comments)     January 8, 2016    

प्यूठान, २४ पुस । जिल्लाका पाँच गाविस र एउटा नगरपालिकाका कृषकले आफ्नो खेतबारीमा उत्पादन हुने कृषि उपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन हुँदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले कृषक पाठशालामार्फत सिक्दै उत्पादन गर्न सुरु गरेका छन् ।

परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दै आएका मर्कावाङ, तिराम, बर्जिवाङ, ओखरकोट र बाँदिकोट गाविससहित प्यूठान नगरपालिकाका खैरा, दाखाक्वाडी, विजयनगर, बिजुजार र धर्मावतीका कृषक अहिले खेतबारीमै कृषक पाठशाला सञ्चालन गरी सिक्दै कृषि उत्पादन गर्दै आएका छन् । जिल्लामा लागू भएको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत गाविस तथा नगरक्षेत्रका कृषकले परम्परागत र आधुनिक कृषि उत्पादनकाबीचमा तुलना गर्दै उत्पादन गर्दै नयाँ प्रविधिका विषयमा सिक्दा कृषि उत्पादनमा समेत वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका योजना विकास अधिकृत उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।


“कृषि तथा खाद्य सुरक्षा कार्यक्रम लागू भएसँगै सो क्षेत्रमा कृषि बीजवृद्धि कार्यक्रम सञ्चालन गर्न लागिएको छ” उहाँले भन्नुभयो । करिब सत्तरी हेक्टर क्षेत्रफलमा बीजवृद्धि कार्यक्रम सञ्चालन गर्ने र कृषिकलाई उन्नत प्रविधिमा व्यावसायिक कृषि खेतीतर्फ अग्रसर गराउने योजना रहेको छ । प्रत्येक गाविस तथा नगरका वडामा २५ जनाको कृषक समूह गठन गरी पाठशालामा सहभागी गराउने र पाठशालामार्फत सिकाउने गरिएको श्रेष्ठले बताउनुभयो ।

कृषकलाई खेतमै पुगेर सिकाउने हुँदा पाठशाला प्रभावकारी रहेको धर्मावतीका कृषक भरतबहादुर थापा बताउनुहुन्छ । यसअघि पाठशाला सञ्चालन नहुँदा कृषि प्राविधिकलाई देख्नसमेत पाइदैनथ्यो । तर अहिले प्राविधिकले खेतबारीमै कृषकलाई पढाउन थालेका छन् । “पाठशालामा सिकेको सीप र ज्ञान प्रयोग गर्दा उत्पादनमा वृद्धि भएको छ” थापाले भन्नुभयो । रासस

Comments

comments

Related Posts