कृषि स्थायी पेसा

(No Comments)     March 28, 2017    

रोल्पा, १५ चैत । लिवाङ–६ का रुपलाल ओली काँक्रो, गोलभेँडा, फर्सी, च्याउलगायत बेमौसमी तरकारीखेती गरेर एउटा याममा रु तीन लाखसम्म आम्दानी गर्नुहुन्छ । उहाँले वार्षिक रु १६ हजार तिरेर भाडामा जग्गा लिई व्यवसाय गर्दै आउनुभएको छ ।

जिल्लास्थित एक गैरसरकारी संस्थामा कार्यालय सहयोगीका रुपमा समेत काम गर्दै आउनुभएका ओली बिहान बेलुका तरकारीखेती गर्नमै व्यस्त रहनुहुन्छ । जागिरलाई अस्थायी र कृषिलाई स्थायी पेसा मान्दै आउनुभएका उहाँले कृषिबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।

Kakra1

यस्तै धवाङ– ३ का ऋषिराम रोका लिवाङमा अलैँचीखेती गर्नुहुन्छ । उहाँले अलैँचीखेतीबाट वार्षिक रु १४ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । विगतमा राजनीति प्यारो लागे पनि अहिले कृषि पेसा प्यारो लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

गत वर्षसम्म जग्गा भाडामा लिई नर्सरी स्थापना गर्नुभएका रोकाले अहिले आफैं जग्गा खरिद गरी व्यवसाय गरिरहनुभएको छ । उहाँले देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, अलैँची, किबी, राई खनियोलगायत प्रजातिको नर्सरी स्थापना गर्नुभएको छ ।

रोल्पा, सल्यान, प्यूठान, दैलेखलगायत जिल्लाबाट समेत बिरुवाको माग आउने गरेको उहाँले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयले रोकालाई अलैँची नर्सरीका लागि अनुदान उपलब्ध गराएको हो । उत्पादित बिरुवा कार्यालयले नै खरिद गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

यस्तै लिवाङमा रहेको सिर्जनशील कृषि महिला सहकारी संस्थाले यस वर्ष मकैको बीउ बिक्री गरेर रु एक लाख ५० हजार आम्दानी गरेको छ । बीउ उत्पादनबाट प्राप्त आम्दानीले सहकारीमा आबद्ध सदस्यलाई आर्थिक रुपमा सबल बनाउन मद्दत पुगेको सिर्जनशील कृषि महिला सहकारी संस्थाका अध्यक्ष हिरा घले बताउनुहुन्छ ।

Kiwi1

जिल्लाका अन्य कृषि सहकारीले समेत बीउ उत्पादन गर्दैआएका छन् । यस वर्ष खाद्य सुरक्षा परियोजनाको सहयोगमा जिल्लाका गैरीगाउँ, घर्तीगाउँ, जंकोट, जैमाकसला, वडाचौर, मिझिङ, जुगार, लिबाङलगायतका ठाउँमा २८ वटा कृषक पाठशाला सञ्चालन गरेको छ ।

कृषकलाई प्राविधिक सीप हस्तान्तरण गर्ने, समूहलाई सशक्तीकरण गर्ने र कृषकको जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यका साथ कृषक पाठशाला सञ्चालन गरेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण कृषक पाठशालामा महिलाको सहभागिता अत्यधिक रहेने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको करिब चार हजार ८९० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । सो क्षेत्रफलका लागि २४५ मेट्रिक टन बीउ आवश्यक पर्छ । जिल्लामा ४० मेट्रिक टन धान उत्पादन हुन्छ ।

यसैगरी १२ हजार ६६० हेक्टरमा उत्पादन गरिने मकैका लागि २५४ मेट्रिक टन बीउ आवश्यक पर्छ । जिल्लामा २९ मेट्रिक टन मकै उत्पादन हुन्छ । यस्तै आठ हजार ५७० हेक्टर क्षेत्रफलमा लगाइने गहुँका लागि एक हजार २८ मेट्रिक टन बीउ आवश्यक पर्छ । करिब २७ मेट्रिक टन गहुँ उत्पादन हुन्छ । रासस

Comments

comments

Related Posts