कृषिमा बिम्स्टेक राष्ट्रको जोड

(No Comments)     September 1, 2018    

काठमाडौँ । बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो सम्मेलनले कृषि उत्पादनमा विशेष जोड दिएको छ । सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरणमा जोड दिनुभएको थियो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेकमा आवद्ध सबै राष्ट्र कृषि प्रधान मुलुक भएकाले कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा औँल्याउनुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले बिम्स्टेकका जनताको प्रमुख आधार कृषि पेशा भएकाले कृषिको निर्यातलाई केन्द्रबिन्दुमा राखेर सबै राष्ट्रले उत्पादनलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । हिमालबाट शुरु भई बङ्गालको खाडीवरिपरी फैलिएका सात राष्ट्रको मुख्य खाना भात, रोटी र माछा हो । बिम्स्टेकका केही राष्ट्रलाई समुन्द्रले घेरेको छ भने समुन्द्रले नघेरेका भुटान र नेपालजस्ता राष्ट्रमा पनि जलस्रोतको अपार भण्डार छ ।

बिम्स्टेकका सदस्य राष्ट्र नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार (बर्मा), श्रीलङ्का, थाइल्याण्डमा खेतीपाती, पशुपालन र माछा उत्पादन गर्न सक्ने प्रशस्त सम्भावना छन् । नेपालसँग ठूला नदी र विभिन्न ताललगायत जलस्रोतको ठूलो सम्भवना छ तर त्यस्ता सम्भावना बोकेको जलस्रोतमा मत्स्यपालनको कुनै ठोस योजना सरकारले ल्याउन सकेको छैन । तराइका उर्वर भूमि मासेर पोखरी खनी मत्स्यपालन अगाडि बढाएको छ । जुन गर्न नहुने काम थियो ।

तराइ नेपालको अन्नको भण्डार
तराइलाई नेपालको अन्नको भण्डार भनिन्छ । तराइ क्षेत्रमा दुई बाली धानखेती हुन्छ । हाल नेपाललाई ६३ लाख मेट्रिकटन धानको आवश्यकता छ ।

मागअनुसार १० लाख मेट्रिकटन धान अझै अपुग छ । पछिल्लो समयमा धानखेती भएको जमीनमा माछापालन गरिएको हुँदा नेपाल धानमा परनिर्भर हुँदै गएको हो । “तराइमा सिँचाइको सुविधा छ, सुविधा नभएको ठाउँमा पनि थोरै लगानीमा इनार र ट्यूबेलमार्फत सिँचाइ सुविधा पु¥याउन सकिन्छ र त्यहाँ पनि खाद्यान्न उत्पादन गर्न सकिन्छ ।” वरिष्ठ धान विशेषज्ञ भोलामानसिंह बस्नेतले भन्नुभयो ।

नेपालको कूल क्षेत्रफलमध्ये १७ प्रतिशत जमीन तराइमा पर्छ । लगभग खोलानाला, वनजङ्गलले ढाकेको क्षेत्रफलबाहेक पुगनपुग १२ प्रतिशत जमीनमा खेती गर्न सकिन्छ । तराइलाई अन्न उत्पादनमा सीमित गर्ने हो भने आगामी दुई वर्षमा नेपाल अन्नमा आत्मनिर्भर भई बिम्स्टेक राष्ट्रमा निर्यात गर्न सक्ने पहुँचमा पुग्न सक्छ ।

खोला, नदी र तालमा माछापालन
कृषि प्रधान देश भएपनि नेपाल माछामा परनिर्भर छ । अधिकांश माछा भारतबाट आयात हुन्छ । नेपालीको क्रयशक्ति बढेसँगै मिठो मसिनो खाने आदत बढेको छ । त्यसैले माछाको आयात बढेको हो ।

पोखराको फेवातालमा मात्र व्यावसायिक माछापालन गर्ने हो भने झण्डै आधा नेपालीलाई फेवातालकै माछाले पुगनपुग खान पुग्छ । नेपालमा फेवातालजस्तै अन्य थुप्रै ताल छन् । त्यस्तै, स्थानीय खोला र नदीमा व्यावसायिक मत्स्यपालन गर्ने हो भने आगामी तीन वर्षमा नेपाल माछामा आत्मनिर्भर भई निर्यात गर्नसक्ने अवस्थामा पुग्छ ।

पहाडमा मकैखेती
नेपाल मकैंमा आत्मनिर्भर छ । वार्षिक २३ लाख मेट्रिकटन मकै उत्पादन हुन्छ । नेपालीलाई १३ लाख मेट्रिकटन मकैको आवश्यकता छ । तर, मकै उत्पादन भने उत्साहजनक हुनसकेको छैन । वार्षिक २५ लाख मेट्रिकटन मकै उत्पादन हुन्छ । सो उत्पादनलाई दोब्बर बृद्धि गर्नुपर्छ ।

यसै वर्ष नेपालले झण्डै रु १६ अर्बको मकै भारतबाट आयात गरेको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ । जुन आयात पशुपक्षीको दाना बनाउन प्रयोग हुन्छ । मकै खेतीलाई कम पानी भए पुग्छ । पहाडका अधिकांश जमीन बाझै छन् । नेपालको कूल खेतीयोग्य जमीनको ११ लाख हेक्टरमा खेती हुनसकेको छैन । खेती गर्न सक्ने ४० लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा छन् ।

हिमालमा जडिबुटी र सामुदायिक वनमा फलफूल
हिमाली प्रदेशले १५ प्रतिशत र वनजङ्गलले करीब ४२ प्रतिशत भू–भाग ओगटेको छ । हिमालमा जडिबुटी भेडा, च्याङ्ग्रा, चौरीपालन र नेपालका अधिकांश सामुदायिक वनमा फलफूल खेतीको विस्तार गर्ने हो भने फलफूलको परनिर्भरता घट्न गई नेपाल फलफूलमा समेत आत्मनिर्भर हुन सक्छ ।

बिम्स्टेकका सात राष्ट्रमध्ये भारत कृषि उत्पादनमा अग्रणी राष्ट्रको रुपमा आफूलाई उभ्याएको छ । नेपालले मात्र वार्षिक रु २ खर्बको कृषिजन्य उपज भारतबाट आयात गर्दै आएको छ । नेपाल कुखुरामा र बङ्गलादेश माछामा आत्मनिर्भर छ । भुटानले धान र मकै लगभग बराबरी उत्पादन गर्छ । यहाँ ट्राउट र कार्प जातको माछा उत्पादनलाई प्राथमिकता दिइएको छ । यो राष्ट्र सुन्तला र स्याउमा आत्मनिर्भर छ । त्यहाँ उत्पादन हुने फलफूल बङ्गलादेशमा निर्यात हुन्छ ।

झण्डै ४० प्रतिशत थाइ नागरिक कृषिमा आत्मनिर्भर छन् । थाइल्याण्डका जनताको मुख्य उत्पादन धान हो । एक करोड ६० लाख किसान धान उत्पादनमा संलग्न छन् । विश्वमा धान उत्पादन गर्ने पाँचौ ठूलो राष्ट्र थाइल्याण्ड हो । थाइल्याण्डले चामल, नरिवल र कफी निर्यात गर्छ । सन् २०१६ को तथ्याङ्कअनुसार थाइल्याण्डले २५ मिलियन टन धान निर्यात गरेको थियो ।

म्यानमार (बर्मा) को प्रमुख उत्पादन धान हो । धानको अलवा मकै, दाल, उखु, माछा, बदाम, अदुवा, लसुन, प्याजलगायत उत्पादन गर्छ । संयुक्त राष्ट्रसङ्घ, विश्व खाद्य सङ्गठनका अनुसार म्यानमारमा उत्पादन हुने सबै उत्पादनको २५ देखि ३० प्रतिशत अन्नबाली निर्यात हुन्छ । ७० प्रतिशत जनता कृषिमा आत्मनिर्भर छन् भने कूल गार्हस्थ्य उत्पादनमा ३८ प्रतिशत योगदान छ ।

अर्का बिम्स्टेक राष्ट्र श्रीलङ्काको कूल गार्हस्थ्य उत्पादनमा मत्स्यपालनको योगदान झण्डै आठ प्रतिशत छ । श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०१६ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो वर्ष श्रीलङ्काले १७ मिलियन युएस डलर बराबरको भटमास निर्यात गरेको थियो ।

यसैगरी श्रीलङ्काले सन् २०१६ मा १२ लाख युएस डलर बराबरको नौँ लाख ४८ हजार मेट्रिकटन गहुँ, एक लाख ५० हजार मेट्रिकटन मकै आयात गरेको थियो । सोही वर्ष पशुपालनका लागि ६८ मिलियन डलर बराबरको पाँच लाख मेट्रिकटन पशुआहार आयात गरेको थियो । श्रीलङ्काबाट विश्वका विभिन्न देशमा चिया तथा मसला, तयारी पोशाक, लत्ताकपडा, हिरा, माछा तथा नरिवल निर्यात हुन्छ ।

बिम्स्टेक मुलुकमा नेपाल र बङ्गलादेशको कथाव्यथा भने लगभग उस्तै छ । नेपाल धान, मकैमा परनिर्भर भएजस्तै बङ्गलादेशले पनि सन् २०१७/०१८ मा ३८ हजार ६० टन चामल, ५९ लाख टन गहुँ र २० लाख टन मकै आयात गरेको थियो । रासस

Comments

comments

Related Posts