कृषक बोयर बाख्रापालनतर्फ आकर्षित

(No Comments)     June 11, 2018    

काठमाडौं । बोयर जातका बाख्रापालन तर्फ किसानका आर्कषण बढ्दै गएको छ । बोयर जातको बाख्राको तौंल सजिलै बढ्ने र आम्दानीे पनि राम्रो हुने देखी पछि कृषक पछिल्लो समय बोयर बाख्रापालन प्रति आर्कषित भएका हुन् ।

यस्तै म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न अष्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याउनुभएको छ । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएका रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्ने उद्देश्यले अष्ट्रेलियाबाट दुईवटा पाठी र दुईवटा बोयर जातका बोका ल्याउनुभएको हो ।

नौ लाख खर्च गरेर बोयर जातका बाख्रा खरिद गर्नु भएको उहाँले बताउनुुभयो । थोरै समयमा धेरै तौल बढ्ने उक्त जातको बाख्रापालनका लागि ल्याइएका बोका र पाठीबाट शुद्ध बोयर बाख्रा उत्पादन गर्दै आउनु भएको छ । उहाँले यसअघि धार्के र सुर्खेतबाट ल्याइएका बोयरबाट स्थानीय जातमा क्रस गरी नश्ल सुधार गर्दै आउनुभएको छ ।

अहिले क्रस गरी उत्पादन भएका बोयर बोका प्रतिकिलो रु दुई हजारभन्दा बढी मूल्यमा बिक्र हुने गरेको छ । शतप्रतिशत शुद्ध बोयर बाख्राको मूल्य प्रतिकिलो चार हजारभन्दा बढी पर्छ । छिटो तौल बढ्ने र आम्दानी पर्याप्त हुने भएपछि पछिल्लो समय कृषक बोयर बाख्रापालनतर्फ आकर्षित हुँदै गएका छन् ।

जागिर त्यागेर गाउँमै बाख्रापालन गर्नुभएका रिजालले शुरुवातमा नौवटा बाख्राबाट व्यवसाय शुरु गर्नुभएको हो । उहाँले सञ्चालन गर्नुभएको धौलागिरि व्यावसायिक बाख्रा फार्ममा अहिले स्थानीय, बोयर र क्रस बोयर जातका गरी ४३ वटा बाख्रा रहेका छन् । वार्षिकरुपमा रु चार लाखभन्दा बढीका बाख्रा बिक्री गर्दै आएका रिजालले आगामी दिनमा शुद्ध बोयर जातका बाख्रापालन गर्ने लक्ष्य लिनुभएको छ ।

सामान्यतया ६ महिनासम्म पालेको बोयर बाख्रा ३० किलोभन्दा बढीको हुने गर्छ । कृषकले एउटै बोकालाई ६० किलोभन्दा बढी तौलसम्म बनाएर बिक्री गर्दै आएका छन् । खसीबोका र माउ बाख्राको माग बढेसँगै फार्ममा लगानीसमेत बढाउँदै लगेको रिजाल बताउनुहुन्छ ।

रिजालले हालसम्म माउ बाख्रा खरिद, खोर निर्माणलगायतमा गरी रु २० लाखभन्दा बढी लगानी गर्नुभएको छ । बाख्रापालनका लागि उहाँले करीब ३० रोपनी जग्गामा जिल्ला वन कार्यालयको सहयोगमा रायोखन्यु, दुधेलो, किम्बु, टाँकी, निमारोलगायतका घाँसखेती समेत गर्दै आउनुभएको छ ।

बोयर जातको बाख्राको छिटो शारीरिक वृद्धि, तौल बढी, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमता पनि बढी भएको र स्थानीय हावापानी अनुकूल भएकाले नेपालमा बोयर जातका बाख्रापालनतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

 

Comments

comments

Related Posts