कृषक आधुनिक कृषितर्फ आर्कषित

(No Comments)     August 23, 2018    

काठमाडौं । झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ आर्कषित हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीमार्फत समय, श्रम साथै खर्चको समेत बचत हुने भएकाले यस तर्फ आर्कषित हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि औंजारको प्रयोग गर्न थालेका छन् ।

कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागतशैली छाडेर आधुनिक प्रविधिबाट धानखेती गर्नुभएको छ । उहाँले ड्रम सिडर मेसिनको प्रयोगबाट छरुवा धानखेती गर्नुभएको हो । धानको ब्याड राख्नुपर्ने, न त उखेल्नु नै पर्ने, साह्रै सजिलो भएको कृषक लिम्बूकोे भनाई छ ।

उहाँका अनुसार नयाँ आधुनिक कृषि आधुनिक प्रविधिकोे प्रयोगबाट राम्रो उत्पादन गर्न सकिनुका साथै जनशक्ति पनि कम लाग्ने गर्दछ ।
सुपरजोन परियोजना अन्तर्गत ५० प्रतिशत अनुदानमा उहाँले एउटा पावरट्रेलरसमेत खरिद गर्नुभएको छ । खेत जोत्ने, सम्याउने र धान काट्ने तीन वटै काम उक्त मेसिनबाट हुने उहाँले बताउनुभयो ।

त्यस्तै, उहाँले जैविक मल उत्पादनसमेत गर्न थाल्नुभएको छ । गड्यौंलाले मलको प्रयोग गरेर अग्र्यानिक कृषिउपज उत्पादन गर्ने उहाँको योजना छ ।

यस्त अर्का किसान डिल्ली नेपालले पनि ड्रम सिडर मेसिनको प्रयोग गरेर छरुवा धानखेती गर्नुभएको छ । उहाँले स्वर्ण १ र लल्का बासमती जातको धान लगाएको बताउनुभयो । उन्नत प्रविधिको प्रयोगले खेती गर्न सहज भएको उहाँको पनि भनाई छ । कम खर्चमै राम्रो उत्पादन लिन सकिने भएपछि यसतर्फ आर्कषित भएको बताउनु हुन्छ ।

कचनकल–७ जुनेली कृषि सहकारी संस्थाका व्यवस्थापक अर्जुन लामाले खर्च घट्ने र उत्पादन बढ्ने बुझेपछि सहकारी आवद्ध कृषि आधुनिक प्रविधितर्फ आकर्षित भएको बताउनुभयो । खेती गर्ने शैली नै परिवर्तन भए सँगै पावरट्रेलरको माग बढेकाछन् ।

यस वर्ष सुपरजोन क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ । यहाँ नौ हजार हेक्टरमा धानखेती गरिएको छ ।

Comments

comments

Related Posts