किसानले मिल्क ‘होलिडे’को समस्या भोग्नु नपर्ने

(No Comments)     February 9, 2017    

काठमाडौं । दुग्ध विकास संस्थानले विराटनगरको धुलो दूध कारखानामा एघार करोड रुपैयाँ लगानी थपेर उत्पादन क्षमता तेब्बर बनाउने भएको छ।संस्थानका अनुसार चैतभित्रमा प्लान्टको क्षमता विस्तार भइसक्नेछ ।

चैत महिनामा दूध संकलन कम हुने भएकोले कारखाना विस्तार सहज हुने अनुमान गरिएको छ । ‘अहिले २० हजार लिटर दूधबाट धुलो दूध उत्पादन भइरहेको छ’, संस्थानको विराटनगर शाखाका प्रबन्धक सरोजकुमार सिम्खडाले भने, ‘यसबाट १ हजार ६ सय किलोग्राम धुलो दूध उत्पादन हुन्छ ।

कारखानाको विस्तार गरिएपछि थप ४० हजार लिटर दूधबाट धुलो दूध उत्पादन गर्न सकिनेछ । दैनिक ६० हजार लिटर दूधबाट ५ हजार किलोग्राम धुलो दूध उत्पादन गर्न सकिनेछ ।’ धुलो दूधको कारखानाको विस्तार गरिएपछि पूर्वका किसानले मिल्क ‘होलिडे’को समस्या भोग्नु नपर्ने बताउँदै प्रबन्धक सिम्खडाले यस क्षेत्रका किसानले जति दूध उत्पादन गरे पनि संस्थानले खरीद गर्ने दाबी गरे ।

स्वर्गीय शैलजा आचार्य कृषि मन्त्री हुँदा संस्थानको विराटनगर कार्यालयस्थित परिसरमा धुलो दूध कारखानाको स्थापना सुरु गरिएको थियो । यसलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेका थिए ।

यो कारखानाको उत्पादन क्षमता प्रति दिन ३ हजार किलोग्रामको भए पनि कारखाना पुरानो र जीर्ण भएकाले बढीमा २ हजार किलोग्राममात्र उत्पादन गर्न सकिने बताइएको छ । यहाँ उत्पादित धुलो दूधको बजार काठमाडौंनै हो । प्रबन्धक सिम्खडाका अनुसार टेन्डर भएर संस्थानको परिसरमा मेसिनहरू आइसकेका छन् । यो मेसिन जडान गरेपछि दूध उत्पादन बढ्नेछ ।

हाल किसानबाट सङ्कलित ३० हजार लिटर दूध विराटनगरस्थित आयोजनामा आइरहेको छ । यसबाहेक हेटौँडाबाट पनि प्रति दिन ५ हजार लिटर दुध ल्याइने गरेको छ । असोजदेखि फागुन महिनासम्मलाई दूधको सिजन र चैतदेखि भदौसम्मलाई अफसिजन हो ।

विराटनगरमा सङ्कलन गरिने दूधमध्ये ६० देखि ७० प्रतिशत इलामबाट आउँछ । यसबाहेक पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी र सप्तरीबाट पनि दूध सङ्कलन भइरहेको छ । यसरी पूर्वाञ्चल क्षेत्र दूध र दूधजन्य पदार्थमा आत्मनिर्भर रहेको सिम्खडाले बताए।

धुलो दूध मात्र नभई विराटनगरस्थित आयोजनाले उत्पादन गर्ने घिउ र मक्खनको ७० प्रतिशत बजार पनि काठमाडौं नै हो । आयोजनाले दैनिक एक मेट्रिक टन मक्खन र त्यति नै मात्रामा घिउ उत्पादन गर्दै आएको छ ।

विराटनगरस्थित आयोजनाले चालु आर्थिक वर्ष २०७३/७४ मा दुई लाख ६८ हजार किलोग्राम मक्खन, दुई लाख ३७ हजार किलोग्राम घिउ र छ सय मेट्रिक टन धुलो दूध उत्पादन गर्ने लक्ष्य राखेको छ । पहिलो पोष्टबाट

Comments

comments

Related Posts