किसानको जीवनस्तर उकास्ने प्रयास

(No Comments)     April 29, 2018    

काठमाडौँ । राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्था ९टिटिएस० ले शनिवार यहाँ एक कार्यक्रम गरी चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र हालसम्म ३५० शेयर सदस्य भइसकेको तथा ५०० सदस्य पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

पूर्व प्रजिअ समेत रहनुभएका राईले संस्थाले हाल भोजपुरमा १० वटा बगानमा चिया खेती शुरु गरेको र चिराइतो, लोठसल्लाजस्ता बहुमूल्य जडीबुटीको समेत खेती गर्ने योजना रहेको बताउनुभयो । उहाँले संस्थाले भोजपुरका थामडाँडा, टेम्केदेखि सिलिचुङ डाँडासम्मका पर्ती तथा बाँझो रहेका जमिनमा कृषकबाट जग्गा लिजमा लिई उनीहरुलाई समेत सहभागी गराई चिया तथा जडीबुटी खेतीमार्फत किसानको जीवनस्तर उकास्न प्रयास गरिरहेको बताउनुभयो ।

यसै सन्दर्भमा हालसम्म संस्थाले एक हजार रोपनी जग्गा प्राप्त गरिसकेको उहाँले बताउनुभयो । संस्थाबाट उत्पादित चिया प्रशोधन गर्न डेनिस सरकारको उन्नति कार्यक्रममार्फत रु ८५ लाखको लागतमा भोजपुरको कटुञ्जेस्थित बतासे मुलाबारीमा चिया प्रशोधन कारखाना निर्माण भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा समाजसेवी हिमाल राई, शिक्षक देवी घिमिरे, कृष्ण तिम्सिना, भक्तबहादुर राई, गणेश दाहाललगायतले संस्थामार्फत चिया खेती विस्तार गर्न हरसम्भव सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो । सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत २१ जनालाई सल्लाहकारमा मनोनयन गरिएको जानकारी दिइयो ।

कार्यक्रममा नयाँ शेयर सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने चिया दिवस परेको सन्दर्भमा भोजपुरस्थित संस्थाका बगानमा उत्पादित चिया उपस्थित आगन्तुकलाई प्रथम पटक खुवाइएको थियो । भोजपुरका बतासे, लहरेमाने लगायत स्थानमा चिया रोपिएको तीनबर्ष पुगेपछि यसपटक चियापत्ती टिप्न लायक भएकाले प्रशोधित गर्नुपर्ने अवस्था भएको हो । रासस

 

Comments

comments

Related Posts