किबी व्यावसायिक खेती बन्दै

(No Comments)     January 28, 2016    

फलेवास, १४ माघ । परीक्षणका रुपमा सुरु गरिएको किबीखेती सफल भएपछि यहाँका एक किसानले पशु चौपाया बिक्री गरेर किबीमा लगानी गरेका छन् । लेकफाँट–७ का कृष्णबहादुर रञ्तिजाले करिब रु तीन लाखको लगानीमा किबीको व्यावसायिक खेती थाल्नु भएको हो ।

जिल्ला कृषि विकास कार्यालय र एक विदेशी विशेषज्ञले २०६६ सालमा किबीको सम्भावनाबारे बताएपछि उहाँले परीक्षणका रुपमा किबीका केही बोट लगाउनुभएको थियो । बारीमा लगाएका सबै बोटले फल दिन सुरु गरेपछि उहाँले तीन वर्षअघि आफ्नो तीन रोपनी बारीमा किबीका बिरुवा रोप्नुभएको हो । “दुईवटा लैनो भैँसी, एउटा गोरु बेचेर रु ६० हजारको ढिकुरी बुझेर यसमा लगानी गरेँ ।

अहिले फल लागेपछि आशा पलाएको छ” उहाँले भन्नुभयो । अहिलेसम्म रु चार लाख लगानी गर्नुभएका उहाँले लगानी उठ्नेमा विश्वास बढेको बताउनुभयो । काठमाडौँस्थित गोदाबरीबाट दुई किलो बीउ ल्याएर लगाउनुभएका उहाँको बारीमा अहिले २५० बोटले फल दिन सुरु गरेको छ । बाँकी दुई हजार ७०० कलमी बिरुवा छन् । “अहिले कलमी बिरुवा प्रतिगोटा रु ३०० मा बिक्री हुने रहेछ,” उहाँले भन्नुभयो, “सबै बिरुवा बिक्री भए बिक्रीबाटै लगानी उठ्छ ।”

उहाँले कृषि र घरेलु कार्यालयमा दुई वर्षअघि ‘रञ्तिजा किबी नर्सरी’ दर्ता गर्नुभएको छ । यो खेतीगर्न सुरुमा कृषि कार्यालयले केही आर्थिक र प्राविधिक सहयोग गरेको थियो । “कलमी बिरुवाका लागि डाँठ लिन गोदाबरी र बागलुङको गल्कोट जाँदा धेरै पैसा खर्च भयो”– रञ्तिजाले भन्नुभयो, “ऋण खोज्नभन्दा बस्तुभाउ बिक्री गर्छु भन्ने सोच आयो, दुईवटा लैनो भैँंसी र गोरु बेचेर लगानी गरेको हुँ ।”

नेपाली बजारमा प्रतिकिलो रु ६०० सम्ममा बिक्री हुने किबीको व्यावसायिक खेती जिल्लामै पहिलो भएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । रञ्तिजाले गरेको खेती सफल भएपछि अन्य गाविस लेकफाँट, सालिजा, भुकताङ्ले, बनाँैं, क्याङ, चित्रे, देउरालीलगायतको करिब पाँच हेक्टरमा परीक्षणका रुपमा यसको खेती गरिएको छ ।

रोपेको तीन वर्षदेखि फल दिने किबीले लगातार ८५ वर्षसम्म आम्दानी दिने भएकाले आफू यसमा आकर्षित भएको रञ्तिजाको भनाइ छ । रासस

Comments

comments

Related Posts