काठमाडौबासीले छतमै मात्र तरकारी रोपे बजार जानै पर्दैन : राजेश पायल

मैले हलो जोतिन कि, गोवर सोरिन कि, घांस काटिन ?

(No Comments)     April 1, 2016    

विश्व लिम्बू

धानै काट्ने मंसिरमा

काफल बसाख जेठ

साथीभाई इष्टमित्र कहिले होला

भेठ झल्को लाग्छ काठे कोलमा

तोरी तेल पेलेको असारमा धान रोप्दा हासे खेलेको यो गीत गायक राजेश पायल राईले गाएका हुन । उनलाई यस्ता गीत गाउन खुवै मन पर्छ । हुन त उनले मायापिरतीका गीत, राष्ट्रिय तथा देश विदेशका गीत पनि नगाएका होइनन् । तर, कृषि गीतले उनलाई गाउँको झझल्को पनि दिने गरेको छ ।

नेपालका नंवर एक मानिने गायक राजेश पायल राईले हलो जोतेका छन्, गोवर सोरेका छन् अनि डोको भरी घांस काटेका छन् भन्दा तपाई हामीलाई विश्वाश नलाग्न सक्छ तर विश्वाश गर्नुहोस् खोटाङ बुंईपामा जन्मिएका गायक राईले आफ्नो स्कुले जीवनमा यी सवै काम गरे । उनले भने, कक्षा ७, ८ पढ्दा घांस, दाउरा, गोठाला सवै गरियो, स्कुल छुट्टी भएपछि एक डोको घांस काट्थें अनि खेतमा पानी हाल्न जान्थें ।

गायक राईले आफु कृषक परिवारमै हुर्कीएको भन्दा आफुलाई अलिकति पनि लज्जा वोध नहुने वताए । समग्र नेपाली परिवार नै कृषिसंग जोडिएको छ, त्यसैले म आफुलाई कृषक गायक भन्न पनि रुचाउंछु । मलाई कृषक गायक भन्दा मलाई गौरवको अनुभुति हुन्छ । काठमाडौं आएपछि भने कृषिजन्य गतिविधिबाट टाढा भएपनि काठमाडौंमा पनि धेरै गर्न सकिने उनी सुनाउंछन् ।

काठमाडौंका सवैले आफ्नो छतको मात्रै सही सदुपयोग गर्न सके भने पनि परिवारका लागि तरकारी किन्न वजार धाउन नपर्ने गायक राईको तर्क छ । उनी भन्छन, कार्य व्यस्तताले कृषि सम्वन्धि गतिविधिमा सामेल हुन पाईएको छैन् अधिकांश समय विदेश तिरै हुन्छु नत्र मलाई कृषिसंग सम्वन्धित काम गर्ने खुव रहर छ । गायक राई भन्छन्, सरकारले नेपाली कृषकलाई प्रोत्साहन गर्न सकेन, त्यसैले देशका अधिकांश क्षेत्रका जमिन बांझै छन् । यसो भनिरहंदा उनले खोटाङ बुंईपाको आफ्नो जमिन बांझै रहेको पनि सम्झना गरे ।

मेरो सवै परिवार युकेमा भएकाले पनि मेरो खेत बांझै छ, म जस्ता कति मानिसको जमिन बांझै छ, त्यसमा कृषिजन्य वस्तुहरुको उत्पादन गर्न सकिए मुलुक कृषि उत्पादनमा परनिर्भर हुनुपर्ने थिएन, उनले भने । गायक राई दाबी गर्छन, कृषि क्षेत्रलाई हेला गर्ने हाम्रो नकारात्मक प्रवृत्तिकै कारण हामी विदेशिन वाध्य भईरहेका छौं, यस्तो प्रवृत्तिले त देशलाई नै घाटा लाग्छ ।

कृषकलाई सरकारले प्रोत्साहन नगर्ने अनि युवाहरु विदेशिने प्रवृत्ति कायमै रहने हो भने अबको ५० वर्ष पछि नेपालमा चामल नपाईने राजेशको अनुमान छ । नेपालको कृषि प्रणाली व्यवसायिक हुन नसकेकोमा चिन्ता प्रकट गर्दै गायक राईले सरकारी क्षेत्रबाट नीति निर्माण गर्ने वेलामा यस विषयमा प्रशस्त ध्यान दिईनुपर्नेमा जोड समेत दिए । गायक राई भन्छन् म नीति निर्माण तहमा भएको भए यस क्षेत्रमा धेरै काम गर्ने थिए । अहिले कृषि सम्वन्धि गीत गाएरै भए पनि यस क्षेत्रवारे जनचेतना जगाउन योगदान गर्न पाएकोमा आफुलाई गौरवको महशुश हुने गायक राईको भनाई छ । उनले नेपालको मुख्य आयश्रोत नै कृषि भएकाले कृषिको विकल्प खोज्नुभन्दा पनि यही पेशालाई नेपालीले गौरवकासाथ अंगाल्नुपर्ने र युवाहरुले पनि विदेश जाने संस्कृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

Comments

comments

Related Posts