कम उचाइमै चौँरीपालन

(No Comments)     April 5, 2018    

काठमाडौं । जलवायु परिवर्तनलाई मध्यनजर गर्दै सबैभन्दा कम उचाइमा चौँरीपालन शुरु गरिएको छ । मनाङ नासोङ–४ ओडारगाउँका सुरेश थकालीले प्राय जसो चार हजार मिटरभन्दा माथि पालिने चौँरी अहिले करीब दुई हजार मिटर उचाइमा राखेर पाल्नु भएको हो ।

बेमौसममा हिमपात हुने र हिउँले खाएर घाँस उत्पादन नहुने र हिमपातका कारण चौँरी मर्ने हुनाले विकल्पका रुपमा कम उचाइमा ल्याएर पालेको उहाँको भनाइ छ । विगत १० वर्षदेखि चौँरी पालन शुरु गरे पनि निकै कठिनाइका बाबजुद हाल आफू सफल भएको थकालीको भनाइ छ ।

हिमालको काखमा बस्ने चौँरी पाखापखेरामा पालेर आफ्नै हातले बनाएको दाना खुवाउने गर्नु भएको छ । प्रायः गरेर चार हजार मिटरभन्दा माथि रहने चौँरी दुई हजार मिटरमा राख्दा सहज त हुँदैन नै तर पनि आफूले जोखिम मोलेर भए पनि एउटा परीक्षण गरेको र सफल भएको उहाँको भनाइ छ । शुरु शुरुमा त बढी गर्मीका कारण चौँरी बिरामी परे, कति त मरे पनि तर हरेश नखाइ निरन्तर लागि परेको उहाँ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “मानिसले हरेश खानु हुन्न, कामले काम सिकाउँछ ।”

थकालीले शुरुमा रु १५ लाखमा १५ वटा चौँरीबाट पालन शुरु गरेकामा १० वटा मर्दा हतोत्साहित पनि भए तर मनमा आँट र विश्वासका साथ लागिरहेको अहिले सफल भएको सुनाउनु हुन्छ । कक्षा १२ सम्म पढ्नुभएका थकाली अहिले ३४ वर्षका हुनुभयो । गरीब परिवारमा जन्मनुभएका थकालीले त्यसभन्दा माथि पढ्ने चाहना हुँदाहुँदै पनि पढ्न नपाएको गुनासो सुनाउनुभयो ।

बिहान उठेदेखि चौँरीलाई दाना बनाउने र गोठमा जाने चौँरीलाई दाना खुवाउने उहाँको दैनिकी बनेको छ । उहाँ भन्नुहुन्छ अहिले आफूसँगका युवा विदेशिएको अवस्थामा आफू गाउँमै बसेर केही उदाहरणीय काम गर्ने सोचले यो पेशा अँगालेको बताउनुहुन्छ ।

बाबु आमाले आफूलाई होटल व्यवसाय गर्न प्रोत्साहन गरेर केही समय त्यतातिर लागेपनि आफ्नो इच्छा पशुपालनमा भएकाले होटल व्यवसाय छोडेर चौँरीपालनमा लागेको उहाँ बताउनुहुन्छ ।

हिमालको काखमा रमाउने चौँरीलाई आफ्नै पाखा पखेरामा ल्याउने उहाँ एक सफल र उदाहरणीय व्यक्ति हुनुहुन्छ । नेपालमा कम उचाइमा चौँरी पाल्ने एकमात्र व्यवसायी सुरेश थकाली आफनो व्यवसायमा सफल हुनुभएको छ ।

हाल उहाँसँग ६५ वटा चौँरी छन् । उहाँ चौँरीको दूधबाट नौनी, छुर्पी, चिज, बनाउनाका साथै चौँरीको ऊन कातेर फेर्पा, राडीपाखी, नाम्लो, पेटीजस्ता सामग्री निर्माण गर्नुहुन्छ । चौँरीका पुच्छर नेवारी समुदायलगायत अन्यले पनि धार्मिक कामका लागि प्रयोग गर्छन् । यस्ता सामग्री बिक्री वितरण गरी सम्पूर्ण खर्च कटाएर वर्षको रु पाँच, छ लाख आयआर्जन गर्ने गरेको उहाँको भनाइ छ ।

जलवायु परिवर्तनले हिमाली भेगमा बेमौसममा हिउँ पर्ने र चरीचरनको अभाव हुने भएकाले कम उचाइमा चौँरीलाई बानी लगाउन आफूले २,००० मिटर उचाइमा पालेको उहाँले बताउनुभयो । अहिले उहाँलगायत ओडारगाउँका अन्य चौँरीपालक किसानले उहाँको देखासिकी गर्न थालेका छन् ।

कसैले मासुका लागि मात्र पालेका छन् भने कसैले व्यावसायिक रुपमा पनि पाल्न थालेका छन् । ओडारगाउँमा हाल ३०० को हाराहारीमा चौँरी पालिएको जिल्ला कृषि कार्यालय, मनाङले जानकारी दिएको छ । ९तस्वीर उपलब्ध छ०

Comments

comments

Related Posts