कफीखेती सँगसँगै अलैँची

(No Comments)     January 21, 2018    

काठमाडौं । पर्वत फलेवासका कृषक व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । फलेवास नगरपालिका– ९ भङगाराका कृषकले विगत चार वर्षदेखि कफी व्यावसायिक रूपमा खेती गर्न थालेका छन् भने कफी सँगसँगै अलैंची खेती गरी दोहोरो आम्दानी लिन समेत सफल भएका छन् ।

खेतबारीमा लगाएको अन्नबाली पनि राम्रो नफल्ने र फले पनि बाँदरले खाइदिने समस्याले हैरान भएका कृषकले पछिल्लो समय व्यावसायिक कफीखेती शुरुवात गरेका हुन् । यहाँका एक सय १६ कृषकले अरु खेती लगाउन छाडेर कफी खेती सुरु गरेका छन् । कफी खेतीका लागि जमिन र उपयुक्त वातावरण भएकाले पनि यहाँको कृषक कफि खेतीप्रति आर्कषित भएको कृषक बताउँछन् ।

कफी खेतीको विस्तार र प्रवद्र्धनका लागि कृषकले भङगरा कफी सहकारी संस्था समेत खोलेका छन् । यो सहकारीमा ११६ स्थानीय कृषक आवद्ध रहेकाछन् ।कफीको फल बर्षामा एक पटक टिप्नु मिल्ने साथै यसको बजार मूल्य पनि राम्रो र बिक्रीको लागि पनि खासै समस्या नहुने भएकाले पनि कृषक अरु खेती छाडेर कफी खेतीगर्न थालेको सहकारीका अध्यक्ष टीकाराम भुसालका भनाई छ ।

यहाँका स्थानीयवासीले सहकारीमार्फत कफीलगायत कुखुरापालन, बाख्रापालन र मौरीपालनजस्ता व्यवसाय समेत शुरु गरेका छन् ।
मेहेनत र परिश्रम गर्ने हो भने गाउँमै बसेर पनि प्रशस्त कमाइ गर्न सकिदोरहेछ भन्ने उदाहरण देखाउन गाउँले सक्रिय भएर लागेको भुसाल बताउनु हुन्छ ।

कृषकले कफी सँगसँगै अलैँचीखेती समेत गरेर यसबाट दोहोरो आम्दानी लिन सफल भएको भुसालको भनाई छ । 

कफी खेतीको शुरुवातसँगै कफी संकलन केन्द्र समेत निर्माण गर्न लागिएको छ । स्थानीय गैरसरकारी संस्था सोर्डेक नेपालद्वारा संचालित गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कफी संकलनका लागि दुई कोठे भवन निर्माण शुरु गरिएको हो । करिब रु १५ लाखको लागतका भूकम्प प्रतिरोधी संकलन केन्द्रको गत महिनादेखि निर्माण कार्य शुरु भएको सोर्डेक नेपालका कार्यक्रम अधिकृत रमेशप्रसाद रिजालले जानकारी दिनुभयो ।

कृषकले उत्पादन गरेको कफी, अलैँची, तरकारी, मह, खसीबोका संकलन गर्ने र एकिकृत रुपमा बजारमा पठाउने उद्देश्यले संकलन केन्द्र निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । संकलन केन्द्र बनेपछि कृषकलाई बजारको अझ समस्या नहुने उहाँको विस्वास छ । कृषकले उत्पादन गरेका सबै बस्तु संकलन गरेर सहकारीमार्फत बिक्री गर्नका लागि बजारमा पठाइने उहाँले बताउनुभयो ।

कृषकले लगाएको कफीले पूर्ण रुपमा उत्पादन दिन थालेपछि वार्षिक एक करोड भन्दा बढी आम्दानी लिन सकिने रिजालले जानकारी दिनुभयो ।

कृषि क्षेत्रमा पछिल्लो समय फलेवास नगरपालिकाका अधिकांश वडाका बासिन्दा सक्रिय हुन थालेको बताउँदै व्यावसायिक रुपमा लाग्ने कृषकलाई नगरपालिकाले विभिन्न अनुदान र प्रोत्साहनमूलक कार्यक्रम ल्याएको नगर प्रमुख पदमपाणि शर्माको भनाई छ ।

Comments

comments

Related Posts