कञ्चनपुरका किसान माछापालनतर्फ आर्कषित

भुराबाट मात्रै बार्षिक बाह्रलाख आम्दानी

(No Comments)     February 15, 2018    

काठमाडौं । कञ्चनपुरका किसानमा व्यावसायिक माछापालनतर्फ आकर्षण बढ्दै गएको छ । सरकारीे अनुदानका कारण पनि पछिल्लो समय किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ ।

पहिले किसान प्राविधिक ज्ञानबिना नै माछापालनमा लागेका थिए भने अहिले प्रविधिक क्षानका कारण पनि किसानमा माछापालनप्रति आकर्षण भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दको भनाई । उहाँले जिल्लाको बेदकोट, कृष्णपुर, बेलौरी, पुनर्वास, भीमदत्तनगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुरलगायत स्थानीय तहमा माछापालन व्यवसाय फष्टाउँदै गएको बताउनुभयो ।

जिल्लामा साना र ठूला गरी प्राकृतिक र कृतिम गरी करिब ७०० भन्दा बढी तालमा यहाँ माछापालन गरिँदैआएको छ । कृत्रिमभन्दा पनि ३० बिघासम्मका प्राकृतिक तालमा किसानले समूह बनाएर माछापालन गरिरहेका छन् भने कृत्रिम ताल बनाएर पनि उनीहरु माछापालन गर्दैआएका छन् ।

जिल्लामा २८५ हेक्टरमा माछापालन भइरहेको बताउँदै मत्स्य अधिकृत चन्दले चालू आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकामा माछापालनका लागि जलाशय निर्माण गर्न रु ९० लाख रकम आएको बताउनुभयो । उहाँका अनुसार सरकारीे अनुदानका कारण कृषक माछापालनमा अझ आर्कषित भएका हुन् ।

अधिकृत चन्दले अनुसार तीस हेक्टरमा जलाशय बनाउन अनुदान आएको छ,भने किसान छनोट गर्ने प्रक्रिया चलिरहेको छ । उहाँले प्रतिहेक्टर जलाशय निर्माणका लागि किसानलाई रु तीन लाखका दरले अनुदान दिइने जानकारी दिनुभयो । यहाँ करिब आठ-नौ जातका माछा किसानले पालिरहेका छन् । हरेक वर्ष जलाशय निर्माणका लागि सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ ।

उत्पादित माछाका लागि बजारको कुनै समस्या नरहेको उहाँले बताउनुभयो । किसानले माछापालनबाट मनग्य आम्दानी गरिरहेका छन् । पछिल्लो समय बेलौरी नगरपालिका–५ मा माछापालन फस्टाउँदै गएको छ । गाउँका ८० किसान एकताबद्ध भएर सोभातालमा व्यावसायिक माछापालन गर्न थालेका छन् ।

करिब आठ हेक्टरमा रहेको प्राकृतिक तलाउलाई व्यवस्थित गरेर सोभाताल मुक्त कमैया शिविरका किसानले व्यावसायिक माछापालन गरिरहेका छन् । विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि गतवर्षदेखि व्यवस्थित रुपमा थालिएको माछापालनमा आबद्ध कृपाराम चौधरीले बताउनुभयो ।

बेलौरी नगरपालिका–३ का किसानले पनि समूह बनाएर व्यावसायिक माछापालन गर्दैआएका छन् । स्थानीयवासीले कर्णाली व्यावसायिक माछापालन समूह बनाएर माछापालन थालेको समूहका कोषाध्यक्ष सावित्रा रावलले बताउनुभयो । त्यहाँ डेढ बिघा जमिनमा माछापालन गरिएको छ ।

बेदकोट नगरपालिका–७ गाउजीका राजीव शर्मा लेखकले रु तीन करोडको लगानीमा व्यावसायिक माछापालन गरिरहेका छन् । करिब १० बिघा जमिनमा उहाँले पोखरी निर्माण गरी विगत दुई वर्षदेखि माछापालन गर्दैआउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका लेखकले लामो समय काठमाडौँमा जागिरपछि केही वर्षयता कञ्चनपुरमा आएर कृषि पेशामा लाग्नुभएको हो ।

बेदकोट नगरपालिका–६ का हरिराम चौधरी पनि विगत अढाइ दशकदेखि माछापालन व्यवसायमा हुनुहुन्छ । उहाँले करिब १२ बिघामा माछा पोखरी निर्माण गरी माछापालन गरिरहनुभएको छ । माछा उत्पादनबाट वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी हुने गरेको चौधरी बताउनुहुन्छ । जलाशय निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयले अनुदान उपलब्ध गराएको उहाँको भनाइ छ ।

यसैगरी, विसं २०५६ देखि कञ्चनपुरमा माछाका भुरा उत्पादन गर्दै आउनुभएका शुक्लाफाँटा नगरपालिका–१ का पल्टु चौधरी वार्षिक भुरा बिक्रीबाट मात्रै रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

भुरा उत्पादन गर्ने ह्याचरी सञ्चालनमा ल्याएका चौधरीकहाँ प्रदेश नंं ७ का सबै जिल्ला तथा बर्दियाबाट समेत किसान भुरा खरिदका लागि आउने गरेका छन् । उहाँले माछापालन २०५० सालदेखि नै थाल्नुभएको हो । पछि गएर माछाका भुरा उत्पादन र बिक्रीमा समेत हात हाल्नुभयो । वार्षिक रु ७० लाखदेखि रु ७५ लाखसम्मको भुरा बिक्री हुने गरेको चौधरी बताउनु हुन्छ भने रु आठ लाखदेखि रु १२ लाखसम्म भुरा बिक्रीबाट नाफा हुने गरेको छ ।

सात प्रजातिका माछाका भुरा उत्पादन गर्दै आउनुभएका चौधरीले भुरा फागुनदेखि भदौ महिनासम्म उत्पादन गर्ने गर्नु हुन्छ । उहाँले दुई बिघा जमिनमा माछापालन गर्दैआउनुभएको छ ।

Comments

comments

Related Posts