ईंटाभट्टामा फोटो र फिल्म प्रर्दशनी

(No Comments)     March 23, 2017    

भक्तपुर । भक्तपुरको नलिन्चोकमा शनिबार इटाभट्टाका बालबालिका–अभिभावकको उत्साह अरु दिनभन्दा फरक थियो । अरु दिन ईंटा बनाउन, ईंटा ओसार्न व्यस्त बालबालिका शनिबार आफैंले खिचेका फोटो प्रदर्शनीमा देखेर दंग थिए ।
ईटाभट्टाको आफ्नै दैनिकीमा बनेको फिल्म ‘डस्ट’को प्रर्दशनीमा उनीहरु आफैंलाई स्क्रिनमा हेरिरहेका थिए । मैलो कपडा, ईंटाको रातो धुलोले लतपतिएको आफ्नै अनुहार स्क्रिनमा देखेर १४ वर्षे पन्चलाल तामाङ लजाइरहेका देखिन्थे । उनका चिम्सा आँखा फिल्ममै टाँसिएका थिए ।

Etta bhatta

दिनभरि ईंटा बोकेर यताउति गरिरहेका बालबालिकाको हातमा आज नयाँ डिजिटल क्यामरा थियो । बर्लिनमा रहेका कलाकारहरुले भक्तपुरको ईंटाभट्टामा काम गरिरहेका बालबालिका र उनीहरुका अभिभावकका लागि शनिबार ‘मेटिभेसनल कार्यक्रम’ आयोजना गरेको थियो । ‘बालबालिकाले निरन्तर पढ्न पाउनुपर्छ’ भनेर थालिएको कार्यक्रमको यो पहिलो संस्करण थियो ।

कार्यक्रममा दीपक तोलाङ्गे निर्देशित इथ्नोग्राफिक फिल्म ‘डस्ट’को प्रर्दशन गरिएको थियो, जहाँ यहि भट्टामा ईंटाकै काम गर्नेहरुको कथा समेटिएको थियो । भट्टामै काम गरिरहेका बालबालिका र ‘डस्ट’ फिल्मकै पात्रहरुले खिचेका फोटो प्रर्दशनीले यहाँको दुःख प्रस्ट देखाउँथ्यो ।

कार्यक्रममा धुलोबाट बच्न बालबालिका र तिनका अभिभावकलाई चार सय थान मास्क, एक सय पचास थान उनीको पन्जा, बीस थान कलाका सामग्री र सात थान डिजिटल क्यामरा वितरण गरिएको थियो ।

Etta bhatta 3 jpg

जर्मनीका कलाकारसँग दीपक तोलाङ्गेको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा जर्मन फोटोग्राफर फिलिक्स हेङ्केले विशेष सहयोग गरेका थिए । जर्मनीमा तोलाङ्गे र फिलिक्सले आयोजना गरेको संयुक्त फोटो प्रर्दशनीबाट उठेको ६० हजार रुपैयाँ रकमबाट ती बालबालिकालाई सामग्री प्रदान गरिएको हो ।

बालबालिकाको लागि जर्मन संस्था अगोराले पनि पैंतिस हजार रुपैंया सहयोग गरेको छ । ‘बालबालिकालाई सानैदेखि शिक्षित गराएमात्रै उनीहरुको भविष्य सुनिश्चित हुनेछ, त्यसैले उनीहरुकै भविष्यको सुनिश्तिताको लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं’, कार्यक्रम संयोजक दीपक तोलाङ्गेले भने ।

तोलाङ्गेले जर्मनीको फ्रि युर्निभर्सिटीअन्तर्गत ‘भिजुअल एण्ड मिडिया एन्थ्रोपोलोजी’ अन्र्तगत स्नातकोत्तर थेसिस गरिसकेपछिको सामाजिक उत्तरदायित्वजका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

यस्तो कार्यक्रम मासिक रुपमै नेपालका थुप्रै इटाभट्टामा गरिने तोलाङ्गेको योजना छ । तोलाङ्गेले २०१६ मा आफ्नो थेसिस रिर्सचको क्रममा ईंटाभट्टामा काम गर्ने बालबालिकालाई साधारण फोटोग्राफी ट्रेनिङ दिएका थिए । तिनै बालबालिकाले खिचेका २४ फोटो कार्यक्रममा प्रर्दशनी गरिएको थियो ।

Comments

comments

Related Posts