अविरल जनसाहित्यमा फूलमान

(No Comments)     December 26, 2015    

काठमाडौं– अविरल जनसाहित्य यात्राको २१ औं शृंखलामा शुक्रबार राजधानीमा कवि फूलमान वल सुनिए । राष्ट्रिय जनसांस्कृतिक महासंघ तथा जनसाहित्यिक मञ्चले दुई वर्षदेखि गर्दै आएको शृंखलाको नयाँ संस्कणमा उनी प्रस्तुत भएका हुन् । ‘महाभारतकी मैच्याङ’ कृतिका कविले तराई आन्दोलनको ताजा मुद्दादेखि आधुनिक बजारीय संस्कृतिले राष्ट्रिय तथा स्थानीय पहिचान गुम्दै गएको सन्दर्भसम्मलाई कविताको विषय बनाए ।

 

‘शीतलहर’ कवितामा उनले सामान्य पात्रमार्फत तराईलाई यसरी प्रस्तुत गर्दै थिए–

कतै सडक छेउबाट
धुवाँको नमिठो गन्ध फैलियो भने
दमकल नपठाऊ सरकार,
सदियौंदेखि खण्डहर यो बस्तीमा
एक्लो जितेन्दर कापडी
च्यातिएका सपनाको अन्तिम पानाहरु जलाउ“दै
शीतलहर तापिरहेको हुनेछु

 

यसरी नै उनले आधुनिकीकरणको चरम विकृति समेटिएको ‘आजका मान्छे’, मुस्ताङ र कवि भूपी शेरचनको सम्झना गरिएको ‘चिचीको रूख’, चेलीबेटी बेचविखनमाथि ‘चिठी’, ‘महाभारतकी मैच्याङ’ र ‘भूईचालो’ कविता सुनाए । उनलाई कवि राबत, बाबु त्रिपाठी, दिपक सापकोटा, श्याम रिमाल, विना तामाङ सुनगाभा र अनिता लामाले एक एक वटा कविता वाचन गरेर सघाए । राबतले सुनाएको ‘भ्यालेन्टाइन डेको जुन’ कवितामा प्रेममा देखापरेको बजारिया प्रवृत्ति र यौन शोषणको चित्रण गरिएको थियो भने बाबु त्रिपाठीले सुनाएको ‘सरकार र सोनाम योञ्जन’ कवितामा सरकार भन्दा सामान्य नागरिक कति इमान्दार हुन्छ भन्ने सन्दर्भ ।

 

त्यस्तै दिपक सापकोटाले सुनाएको ‘काठमाण्डु विरुद्ध’ र श्याम रिमालले सुनाएको ‘पहाड र जुन’ कवितामा शहरमा गुम्दै गएको मानवीयता र स्वभावगत विकृतिलाई उठाइएको थियो भने विना तामाङले सुनाएको ‘प्रेम र किड्नी’ कवितामा काभ्रेको होक्से गाउ“मा किड्नी बेचेर घरको छाना फेर्नेहरुको दयनीयतालाई उठाइएको थियो । अनिता लामाले सुनाएको ‘मैले बुद्ध भेट्टाए“’मा निम्न वर्गीय पात्रलाई बुद्धको रुपमा चित्रण गरिएको थियो ।

 

‘राष्ट्रिय जीवनका हरेक पक्ष, सांस्कृतिक पृष्ठभूमि र जातीय संस्कारका विम्बहरु कवि बलका विशेषता हुन्’ कविता सुनेपछि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भने । वलका कवितामाथि साहित्यकार तथा नेता प्रदीप ज्ञवालीले समालोचनात्मक टिप्पणी गरेका थिए । उनले आधुनिकीकरणले मानवीय मूल्यको विघटन र पहिचानमा आएको संकटप्रति वल सचेत रहेको दावी गरे । ‘र, उनले एकदमै मौलिक विम्वहरु प्रयोग गरेका छन्’ ज्ञवालीले भने ।

 

मंचका उपाध्यक्ष रमेश पोखरेल र काव्य विभाग संयोजक डा. विन्दु शर्माले वलका कवितामा वर्गीय विभेद र समाजवादी चिन्तन पाइने दावी गरे । बलका ‘काजोल खातुन’ कथा संग्रह समेत प्रकाशित छ भने नाटक ‘म्हेन्दोमाया’ राजधानीमा एक महिना मंचन भएको थियो ।

Comments

comments

Related Posts