अल्लो आम्दानी स्रोत बन्दै

(No Comments)     January 9, 2018    

काठमाडौं । वनपाखामा कुहिएर खेर गइरहेको अल्लोको पुवा पछिल्लो समय म्याग्दीका किसानको आम्दानीको स्रोत बन्न थालेको छ । उच्च पहाडी क्षेत्रको जंगलमा पाइने अल्लो पुवाको प्रशोधन गरेर धागो र कपडा बनाउन थालिएपछि स्थानीयवासीको आयआर्जनको माध्यम बनेको छ अल्लो पुवा ।

यहाँको धौलागिरि गाउँपालीकाको गुर्जा, लुलाङ, मुना, मल्कवाङ, रघुगंगा गाउँपालिकाको कुइनेमंगले, पाखापानी, चिमखोला क्षेत्रको जंगलमा अल्लोको पुवा संकलन गरेर सयाँैले रोजगारी र आयआर्जन गरिरहेका छन् । केही वर्षअघिसम्म त्यसै कुहिएर खेर जाने गरेको पुवा संकलन गरेर बिक्री गर्दा हजारौं आम्दानी गर्न सकेको स्थानीयको भनाई छ ।

कार्तिक देखी पुस महिनासम्म लोक्ता संकलन गर्न उपयुक्त हुने गर्दछ । अल्लोको पुवा प्रशोधन गरेर धागो र कपडा बनाउने गरिन्छ । एक किलो पुवा रु ४०० मा बिक्री हुने गरेको छ । म्याग्दीमा व्यक्ति र विभिन्न समूहले दशवटा अल्लो प्रशोधन उद्योग समेत सञ्चालन गरेका छन् ।

जंगलबाट ल्याएको पुवालाई तातोपानीमा पकाएर सुकाएपछि स–सानो रेशा निस्कने गर्छ । त्यसलाई चर्खामा घुमाएर धागो बनाउने गरिएको मुग्लानी अल्लो कपडा उद्योगका सञ्चालक खोजेन्द्र मल्लले बताउनुभयो । सो धागोबाट कपडा तयार पारी कोट, झोला, पर्स, सल, टोपी, स्वेटरलगायतका विभिन्न प्रकारहरु बनाउने गरिन्छ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्र्मीमा शीतल हुने अल्लोको कपडा नेपालका विभिन्न जिल्लामा बिक्री हुनका साथै विदेशीहरुले समेत मन पराउने गरेको पाईन्छ ।

अल्लोको कपडा प्रतिमिटर चार सयदेखि आठसय पचास रुपैंयासम्म बिक्री हुने गरेको पाईन्छ । एक किलो धागोबाट पाँच मिटर कपडा बनाउन सकिने उधोगीहरु बताउछन् ।

Comments

comments

Related Posts