अल्लोबाट सीपको सदुपयोग र आम्दानी

(No Comments)     May 4, 2017    

बाबियाचौर (म्याग्दी), २१ वैशाख । छोराछोरी पढाउनका लागि सदरमुकाम बेनीमा बस्दै आउनुभएका रघुगङ्गा गाउँपालिका–८ कुइनेकी रनसुवा छन्त्यालको फुर्सदको समय हाँडेभिरस्थित साझा सुविधा केन्द्रमा बित्छ । बिहान बेलुकी घरायसी काममा व्यस्त हुने छन्त्याल दिउँसो केन्द्रमा गएर अल्लोको धागोबाट कपडा बुन्नुहुन्छ ।

अल्लोको कपडा बुन्दा सीपको सदुपयोग र आम्दानी भएको उहाँले बताउनुभयो । छन्त्यालमात्र होइन सो सुविधा केन्द्र अन्य महिलाका लागि सीप, समयको सदुपयोग र आम्दानीको माध्यम बनेको छ ।

Allo dhagoo

उद्यमीहरुको सुविधाका लागि सात वर्षअघि स्थापित केन्द्रमा हाल १० जनाले अल्लोको धागोबाट कपडा र सातजनाले ढाका बुन्दै आउनुभएको छ । उनीहरुले मासिक रु १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । “फुर्सदिलो समयको सदुपयोग गरेका छौँ”, हुन्छ,” छन्त्यालले भन्नुभयो ।

अल्लो पुवालाई प्रशोधन गरेर त्यसको धागोबाट कपडा तयार पारी कोट, झोला, पर्स, सल र स्विटर बनाउन सकिन्छ । अल्लोको धागोबाट निर्मित कपडा बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने उद्यमी बताउँछन् ।

एक मिटर अल्लो कपडा रु ५०० का दरले बिक्री हुने गरेको हिमाली अल्लो उद्यमी समूहका अध्यक्ष विष्णु गुरुङले भन्नुभयो । एकजनाले दिनमा एक मिटरसम्म कपडा बनाउँछन् ।

Allow Bag

बढ्दो मागअनुसारको कपडा उत्पादन बढाउनका लागि आधुनिक औजार र उपकरणको प्रयोग गरेर अल्लो कपडा उत्पादन गर्ने तयारी गरेको गुरुङको भनाइ छ । अल्लोको पुवा प्रशोधन गर्ने र कपडा बुन्ने आधुनिक औजार भित्र्याउने तयारी समूहले गरिरहेको गुरुङले बताउनुभयो ।

लघुउद्यम विकास कार्यक्रम, सङ्गम म्याग्दी, लघुउद्यमी समूह सङ्घ, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला वन कार्यालयले तालिम र औजार सहयोग गरेका छन् । उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने चाल्ने सिस्नो भनेर चिनिने अल्लोको पुवालाई प्रशोधन गरेर तयार गरेको धागोबाट कपडा बनाइन्छ ।

जङ्गलबाट सङ्कलन गरेको पुवालाई प्रशोधन गरी बनाएको धागो प्रतिकिलो रु एक हजारमा बिक्री हुन्छ । एक किलो धागोबाट पाँच मिटर कपडा बनाउन सकिन्छ । रासस

Comments

comments

Related Posts